स्कुलबाट घर फर्किंदा, ठुलो उकालो उक्लिंदा लाग्थ्यो, यस्तो भारी ब्याग छोडेर एउटा काँधमा ममीको जस्तै ब्याग भिर्न पाए हुन्थ्यो | कस्तो राम्री देखिन्थे होला, दुइ चुल्ठी फुकालेको, जुत्ता मोजाको सट्टा हील जुत्ता लगाएको, नाङ्गो नङहरुमा कालो पालिस लगाएको, केहि नदलेको अनुहारमा थोरै मकेअप गरेको | स्कुल युनिफोर्म नभएर अस्ति भर्खरै न्यु रोड़मा देखेको ड्रेस लगाउन, कति रहर | बुच्चो कानमा बज्ने झुम्का लगाउन, कति रहर | बाटोमा हिंड्दा देखिने चिटिक्क परेका दिदीहरु जस्तै परफ्युम लगाउन, कति रहर | कति! सोच्दा सोच्दै उकालो नि कट्यो, घर पनि आयो | खाजा खाएँ, होम्वोर्क सुरु गरें | गर्दा गर्दै सोच्थें, नगर्नुपरे हुन्थ्यो | लेख्न पाए हुन्थ्यो | म लेखक हूँ भनेर भन्न पाए हुन्थ्यो | मेरा लेख मनपराउने मान्छे भेटाए हुन्थ्यो | मैले पढ्ने उपन्यासको लेखकले मेरो नाम थाहा पाए हुन्थ्यो | सोच्दा सोच्दै होम्वोर्क नि सक्यो, अनि खाना खाएर सुतें | दिनहरु नि बिते | कहिले काहिँ चाही, बिहान उठ्दा रहर नै रहन्थेनन् | राम्री हुन नि मन लाग्थेन, लेखक हुन नि मन लाग्थेन | खाना खान नि मन लाग्थेन, खाजा खाना...